काठमाडौं, २५ माघ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन [स्ववियु] निर्वाचनसम्बन्धि निर्देशिका–२०७९ पारित गरेको छ ।
त्रिवि कार्यकारी परिषद्को बैठकले स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका पारित गरेको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार निर्देशिकामा स्ववियु निर्वाचनको कार्यतालिका प्रकाशन भएपछि क्याम्पसमा विद्यार्थी भर्ना बन्द गरिने छ ।
कुनै पनि तहको अन्तिम सेमेष्टर वा अन्तिम वर्षको सैद्धान्तिक परीक्षा दिइसकेका विद्यार्थी निर्वाचनमा सहभागी हुन नपाउने निर्देशिकामा उल्लेख गरिएको छ । निर्देशिकामा एक तहको अध्ययन सकेर उत्तीर्ण भइसकेपछि पुनः त्यही तह र विषयमा भर्ना भएका विद्यार्थी निर्वाचनमा सहभागी हुन नपाइने उल्लेख गरिएको छ ।
त्रिविले आगामी चैत ५ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरिएको छ । चैत ५ गते देशभरिका त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्ध प्राप्त क्याम्पसमा निर्वाचन हुँदैछ ।