काठमाडौं, २६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पासपोर्टमाथि परेको जाहेरीका विषयमा सरकारी वकिलको कार्यालय काठमाडौंले अनुसन्धान थालेको छ ।
आफूकहाँ पेश भएको जाहेरीका आधारमा सरकारी वकिल कार्यालयले एकसाथ तीन निकायबाट कागजात मगाएर अनुसन्धान थालेको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंले निवर्तमान गृहमन्त्री रवि लामिछाने विरुद्धको जाहेरी दर्ता लिन अस्वीकार गरेपछि युवराज पौडेल सफलले सरकारी वकिलको कार्यालय, काठमाडौंमा जाहेरी पेश गरेका थिए ।
लामिछानेले १० फागुन २०५० सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सुरुमा नागरिकताको प्रमाणपत्र लिएका थिए । अमेरिका गएपछि उनले २१ फेब्रुअरी २०१४ (तदनुसार ९ फागुन २०७०)मा त्यहाँको नागरिकता प्राप्त गरे । अमेरिकाको नागरिकता पाएपछि ११ मे २०१५ (२८ वैशाख २०७२) मा उनी नेपाल फर्किए र १३ जेठमा नेपाली पासपोर्ट लिए ।