काठमाडौं, २६ माघ । नेकपा माओवादी केन्द्रले पार्टीको नाम र चुनाव चिह्न फेर्ने निर्णयमा पुगेको छ ।
Advertisement
१२ देखि २१ माघसम्म सञ्चालित माओवादीको स्थायी कमिटी बैठकका प्रचण्डले नाम, चुनाव चिह्न र पार्टीको संरचनामा आमूल परिवर्तन गर्ने प्रस्ताव गरेका थिए ।
जसलाई स्थायी कमिटीले अनुमोदन गरेको थियो । उनले यसका लागि पार्टीभित्र प्रारम्भिक चरणमा तीन महिनाको लागि कार्यक्रम प्रस्ताव गरेका छन् ।
प्रस्तावमा प्रचण्डले विचार, सिद्धान्त र व्यवहार मिल्नेहरूसँग पार्टी एकता गर्ने र तत्काल एकता सम्भव नभएका वापमन्थी प्रगतिशील शक्तिहरूसँग सहकार्यका लागि मोर्चा निर्माण गर्ने प्रस्ताव अगाडि सारेका छन् । प्रचण्डले आधारभूत जनता र वर्गसँग सम्बन्ध टाढिँदा माओवादी खुम्चिँदै गएको पनि स्वीकारेका छन् ।
प्रस्तावमा प्रचण्डले २०६४ सालमा सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा ३१ लाखभन्दा बढी मत पाएको माओवादी २०७९ सालमा ११ लाख ७५ हजारमा खुम्चँदै काठमाडौं उपत्यकामा निल हुनुको कारण खोतल्ने प्रयास गरेका छन् । प्रचण्डको यो प्रस्ताव माओवादी स्थायी समिति बैठकले पास गरेपछि माओवादी अब नाम र चुनाव चिह्न फेर्ने निर्णयमा पुगेको छ ।