चितवन, २ फागुन । ग्यालेक्सी फो के टेलिभिजनका चितवन संवाददाता हिरालाल आचार्य माथि नवलपुरको गैंडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीको कार्यकक्षमा दुर्व्यवहार भएको छ ।
मेयरले दुव्र्यहार गरेपछि पत्रकार महासंघ चितवन शाखाले घटनाको निन्दा गर्दै विज्ञप्ति जारी गरेको छ ।
महासंघका सचिव दीपेन्द्र अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ “फागुन २ गते नेपाल पत्रकार महासंघ चितवनका सदस्य तथा ग्यालेक्सी फो के टेलिभिजनका चितवन संवाददाता हिरालाल आचार्यलाई सूचना संकलनको क्रममा गैंडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीबाट उहाँकै कार्यकक्षमा दुव्र्यवहार भएको घटनामा महासंघ चितवन शाखा निन्दा व्यक्त गर्दछ ।”
विज्ञप्तिमा भनिएको छ “स्वतन्त्रतरुपमा पत्रकारिता गर्ने वातावरण बनाउन र शान्ति सुरक्षाको प्रत्याभूतिका लागि हामी स्थानीय प्रशासनसँग माग गर्दछौं ।” सम्पूर्ण पत्रकारको पेशागत सुरक्षा र भयरहित वातावरण्यामा काम गर्न पाउने संविधानप्रदत्त अधिकारको सुनिश्चितता गर्न महासंघले जोडदार माग गरेको छ ।