काठमाडौँ, ५ फागुन । सरकारले आउँदो भदौसम्म सार्वजनिक बिदाबारे पुनरावलोकन गरिसक्ने निर्णय गरेको छ । गृह मन्त्रालयले सार्वजनिक बिदा पुनरावलोकनसम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो ।
बिहीबारको मन्त्रिपरिषद बैठकले गत वर्षका सबै बिदा कायमै राख्ने गरी थप २ दिन बिदा थप गर्दै क्यालेन्टरमा उल्लेख गर्न अनुमति दिने निर्णय गरेको छ ।
सरकारकी प्रवक्ता रेखा शर्माले २०८० सालका लागि क्यालेन्डर तथा पात्रोहरू छाप्ने काम सकिन लागेको अवस्थामा बिदा पुनरावलोकन नगरिएको बताइन् । ‘भइराखेका बिदामा २ दिन बिदा थप गर्ने निर्णय भएको छ। पुस २७ गते पृथ्वीजयन्ती र फागुन १ गते जनयुद्ध दिवसको बिदा थप गरिएको हो,’ मन्त्रिपरिषदको निर्णय सुनाउँदै उनले भनिन्, ‘भदौभित्र बिदा पुनरावलोकन गर्ने निर्णय भएको छ ।’
यसवर्ष पनि सरकारले पृथ्वी जयन्ती र ‘जनयुद्ध दिवस’ मा बिदा दिएको थियो । सार्वजनिक बिदा धेरै भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनरावलोकन गर्ने बताएका थिए ।