नवलपरासी, ९ फाल्गुन । करिब ५ बर्ष अघिसम्म बर्दघाट १५ का होसन्न टोलका बासिन्दा आफ्नो दैनिक गुजारा जसोतसो गरिरहेका थिए । उनीहरुलाई ऋण के हो थाहासम्म थिएन ।आफ्नो सिप अनुसारको काम गरी जिविकोउपार्जन गरिरहेका थिए उनीहरू ।
गाऊँ गाँऊमा छिरेका लघुवित्तले उनीहरूलाई आफ्नो व्यवसाय बृद्धिगर्न भन्दै विना धितो रकम लगानी गर्ने लोभ देखाए ।
बाँसको चोयाबाट डोको, भकारी जस्ता सामाग्री बनाउँदै आएका करिब १ सय ५० परिवार लघुवित्तको विना धितो ऋणको लोभमा परी व्यवसाय बृद्धिगर्ने आशमा पुगे । केही समय सहजै लेनदेन चल्दै थियो । गाँऊमा एक पछि अर्को लघुवित्तका प्रतिनीधीहरूले लोभ देखाउँदै सबैलाई विना धितो ऋण प्रदान गर्न थाले । यतिबेला गाँऊमा १८ थरीका लघुवित्त तथा सहकारीले ऋण प्रदान गरेका छन् ।
ऋण माथि ऋण थप्न होडबाजीका कारण सोझा गाँऊले यतिबेला ऋणको साँवा त के व्याज समेत तिर्न सक्ने अवस्थामा छैनन् । चर्को ब्याजदर, चर्को सेवा शुल्क लिँदै ऋण लगानी गर्दा ब्याज तिर्न पनि पुनः अर्को संस्थाबाट ऋण लिनुपर्ने अवस्थामा पुगे उनीहरु । जसको फलस्वरुप सामान्य गाँऊले ५ देखि १५ वटासम्म लघुवित्तका ऋणी भएका छन् । अहिले होसन्न टोलमा ५ लाख देखि २२ लाख सम्म ऋण बोकेका गाउँलेहरू प्रशस्तै छन् । सामान्य परिवारलाई ऋणकाे पासाेमा फसाएर दैनिक लगानी उठाउन लघुवित्तका प्रतिनिधिले यत्तिखेर यहाँ कुनै कसर बाँकी राखेका छैनन् । ऋण उठाउने नाउँमा लघुवित्तले दैनिक रुपमा मानसिक तनाव दिने गरेको बताउनु हुन्छ बर्दघाटकी सरिता गुरुङ । ‘ऋण लिने बेलामा घरमै आएर फकाएर ऋण दिन्छन्।जब तिर्न गाह्रो हुन्छ अनि दिनहुँ घरमा आएर तल्लो स्तरमा झरेर ब्यवहार गर्छन्’, उहाँले भन्नुभयो।
छोरोले माछापालन गर्न लिएको २ लाख ५० हजार ऋणले यति वेला माया तामाङलाई रात दिन पिरोलेको छ । ‘खेतमा न धान भयो न माछा । अरूको भकारी धानले भरिएको छ । आफ्नो रित्तो छ । मागेर खानुपर्ने बाध्यता छ । यस्तो अवस्थामा पनि लघुवित्तले ७८ वर्षीय वृद्धलाई समेत मानसिक यातना र धम्की दिने गरेकाे सोही ठाउँकी माया गुरुङले बताइन् ।
‘जेनतेन जिन्दगी चलिरहेकै थियो । ५ बर्ष अघिसम्म ऋण के हो थाहा थिएन । गाँऊमा आएका लघुवित्तले प्रलोभनमा पारेपछि व्यवसाय उकास्ने आश पलायो । एक पछि अर्कोले समूहमा जोडिँदै जाँदा १३ वटा समूहमा परेपछि अहिले सावाँ समेत तिर्न सक्ने अवस्था छैन । भकारी, डोकोको व्यवसायबाट गुजारा चलिरहेको थियो । अचानक श्रीमानको दुर्घटनामा मृत्यु पश्चात् सामान्य जिविको उपार्जन पनि असहज भएको बताउनु हुन्छ’, जितु गुरुङ ।
जिल्लाको बर्दघाट, रामग्राम, सरावल, पाल्हिनन्दन, प्रतापपुर,सुस्ता, सुनवलका स्थानीयहरु विगत केही वर्षदेखि लघुवित्तको चपेटामा छन् ।
लघुवित्तका डरले यत्तिखेर स्थानीयहरूले दैनिक जसो दिनभर घर छोड्ने र राति घर आउने गरिरहेका छन् । यो सङ्ख्या दैनिकै जसो बढ्दो छ । गरिबी निवारणका नाममा करोडौँ खर्च गरिए । दातृ निकायले विभिन्न बहानामा तालिम पनि चलाई रहेकै छन् तर कस्ले पाए कति जनाले रोजगारी पाए भन्ने जिल्लामा कुनै तथ्याङ्क छैन । सामाजिक उत्तरदायित्व बिर्सेर लघुवित्तले गरेको लगानी उठाउने प्रयासले अझै कतिको घरबास उठ्ने हो एकिन छैन ।
विना सिप लगानी गरिएका ऋणका कारण लघुवित्तले जिल्लामा जीवन उकास्ने भन्दा पनि पीडा थपेको छ । पीडितहरू यतिबेला एकजुटै हुँदै लघुवित्त विरुद्ध सङ्घर्षमा उत्रिन थालेका छन् । उनीहरूले यतिबेला लघुवित्तको संस्थाहरूमा गएर धर्ना दिने जस्ता कार्याक्रमहरु पनि गरिरहेका छन् । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल यस विषयमा आफु जानकार भएपनि समग्र देशकै समस्या भएको कारण तत्कालै समस्या समाधान असहज हुने बताउनुहुन्छ ।
विकट गाँउहरुमा भएका साना उद्यमीलाई सहज ऋण प्रवाह गरि आत्मनिर्भर बनाउँदै गरिबीबाट मुत्तगर्न भन्दै गाऊँ गाँऊमा लघुवित्त खुले । गाँऊगाँऊमा खुलेका लघुवित्तले आफ्ना उद्देश्य परिपूर्ति गर्नु भन्दा पनि नाफामुखी भैंदिदा मानवीयता समेत बिर्सिए । लगानी उठाउने चक्करमा उनीहरू ऋणीलाई घरबाट निकाल्ने, घरमा भएका समान जफत गर्ने, घरमा पालेका कुखुरा, बाख्रा हाँस लिएर जाने, आत्महत्या गरे ऋण मिनाहा गर्ने, किड्नी बेचेर भएपनि ऋण असुली गरिछाड्ने भन्दै गाऊँ गाँऊमा धम्की दिइहरेका छन् । ऋण असुलीमा लागेका लघुवित्तको अत्याचारका कारण यत्तिखेर घरबार छोडेर भाग्नेको पीडा सुनिनसक्नु छ । गाँऊका सोझा जनतालाई धितोको मूल्याङ्कन नगरी जथाभाबी ऋणमाथि ऋण थोपर्दा व्यवसायीक बन्नु भन्दा पनि उनीहरूको बिल्लिबाठ हुने क्रम बढ्दो छ ।
पुँजी लगानीको आधारमा बढी नाफा कमाउने बैङ्क तथा वित्तीय संस्थामा लघु वित्त संस्थाहरू पनि परेका छन् । उनीहरूले न कुनै तालिम दिएका छन् न कुनै पैसा सदुपयोग गर्ने उपाय । केवल समूह बनाउने,ऋण लगानी गर्ने र ऋण उठाउन आत्महत्या गरे ऋण मिनाहा गरिदिने जस्ता उपाय सिकाएका छन् ।