काठमाडौँ, १० फागुन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपीशर्मा ओलीसँग भएको कुराकानीबारे पार्टी बैठकमा ब्रिफिङ गरेका छन् ।
बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकमा अध्यक्ष नेपालले केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटवार्ता र पछिल्लो राजनीतिक घट्नाक्रमबारे सचिवालय सदस्यहरुलाई ब्रिफिङ गरेका हुन् । ब्रिफिङका क्रममा अध्यक्ष नेपालले ओली र आफूबीच चार घण्टा कुराकानी भए पनि ओलीले राष्ट्रपतिबारे उच्चारण नै नगरेको बैठकमा बताएको सम्मानित नेता झलनाथ खनालले बताए । ‘ओलीसँगको भेटमा अध्यक्ष माधव नेपालले आफूलाई राष्ट्रपतिमा प्रस्ताव गरेको भनेर केही पनि भन्नुभएन’, नेता खनालले भने, ‘उहाँहरुबीच चार घण्टा कुराकानी भएको बताउनुभयो । त्यसक्रममा पार्टी मिलाएर जाऊ भन्ने ओलीको भनाइ थियो रे १ तर राष्ट्रपतिको केही कुरै गरेनन् रे ।’
त्यसक्रममा नेता नेपाललाई एकीकृत समाजवादीका नेताले राष्ट्रपतिमा ओलीले प्रस्ताव गरेका समाचारहरू आइरहेका बारे जानकारी माग गरेका थिए । त्यसको जवाफ दिँदै नेता नेपालले अहिलेसम्म राष्ट्रपतिका लागि ओलीले कुरै नगरेको बरु पार्टी मिलाउनतिर जोड दिएको बताएका थिए । बैठकमा राष्ट्रपतिबारे पुन प्रस्ताव आउन सक्ने र त्यसबेला के गर्ने भन्ने विषयमा समेत छलफल भएको छ ।
‘अहिलेसम्म प्रस्ताव आएको भन्ने त प्रश्नै भएन । तर त्यस्तो खालको परिस्थिति आयो भने सक्रिय भएर लाग्ने र हाम्रो पार्टीले लिने भन्ने निर्णय भयो’, नेता खनालको भनाइ छ । नेता खनालका अनुसार यदि प्रस्ताव आएमा पार्टीबाट कसलाई उम्मेदबार बनाउने भन्नेबारेमा पुन छलफल गर्ने निर्णय भएको पनि बताए ।