काठमाडौं, १२ फाल्गुन । राष्ट्रपति निर्वाचनका सन्दर्भमा छलफल गर्न नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरूले प्रधानमन्त्री निवास बालुवाटारमा अहिले छलफल गरिरहनुभएको छ ।
राष्ट्रपति निर्वाचनका लागि भोलि फागुन १३ गते मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको बेला । मनोनयन दर्ताका लागि एक दिन बाँकी छँदा दलहरू तीव्र छलफलमा जुटेका छन् ।
राष्ट्रपति पदमा कुन दलको उम्मेदवारको मनोनयन गर्ने र त्यसका लागि राष्ट्रिय सहमति जुटाउने भन्ने बारेमा दलहरू एक मतमा पुगिसकेका छैनन् ।
हिजो नेकपा माओवादी केन्द्र, नेकपा एस र जसपाबीच भएको छलफलमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने बारे छलफल भएपनि आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार नेकपा एमाले र नेपाली काङ्ग्रेससँग त्यस विषयमा छलफल गर्ने बताउनुभएको थियो ।