चितवन, १२ फागुन । चितवनका किसानले सडकमा कालो बेलुन उडाएर आन्दोलन गरेका छन् । भारतीय तरकारीका कारण स्वदेशी उत्पादनले मूल्य नपाएको भन्दै किसानहरुले शुक्रबार नारायणगढ पुलचोक सडकमा कालो बेलुन उडाएर विरोध जनाएका हुन् । चितवनका किसानहरूले यसअघि पनि राजमार्गमा तरकारी फालेर आन्दोलन गरेका थिए । पहिलो चरणको आन्दोलनपछि पनि आफूहरुको माग सुनुवाइ नभएको भन्दै किसानहरूले दोस्रो चरणको आन्दोलन शुरू गरेका हुन् ।
उत्पादित वस्तुले बजार नपाउँदा सडकमा आएर पटक–पटक आन्दोलन गर्न परेको किसान संघर्ष समितिका संयोजक लेखनाथ भुसालले बताउनुुभयो । ‘बारीमा तरकारी उत्पादन भैरहेको छ, बजारमा बिक्री छैन’ उहाँले भन्नुुभयो । यसअघि संघीय कृषिमन्त्रीदेखि जिल्ला प्रशासन, कृषि कार्यालय, प्रदेशसहित चितवनका सातवटै स्थानीय तहमा १० बुँदे ज्ञापनपत्र बुझाएका किसान सम्बन्धित निकायले बेवास्ता गरेपछि पुनः विरोधमा उत्रिनुपरेको भुसाल बताउनुुहुुन्छ ।
नेपाली व्यापारीले भारतीय उत्पादनलाई प्रश्रय दिँदा त्यसबाट स्थानीय किसान प्रत्यक्ष मर्कामा परेको भन्दै त्यसको विरोधस्वरूप नचाहेर पनि सडकमा तरकारी फालेको एक महिना नहँुदै पुनः आन्दोलन गर्नुपरेको किसानहरुको भनाइ छ । किसानहरुले माघ २० गते पनि फर्सी, गोलभेँडा, काउली, बन्दालगायतका तरकारी पुलचोकमा ल्याएर फालेका थिए । उक्त प्रदर्शनपछि प्रधानमन्त्री, कृषि मन्त्रीलगायतले किसानका मागहरू सम्बोधन गर्ने आश्वासन दिएका थिए । तर कार्यान्वयन नहुँदा समस्या उस्तै रहेको किसानहरुको गुनासो छ ।
किसानहरूले जीविकोपार्जनका रूपमा तरकारी खेती गरे पनि सरकारले किसानलाई संरक्षण गर्नुपर्नेमा उल्टै दलालहरुलाई संरक्षण गरेको आरोप लगाएका छन् । पटक–पटक आन्दोलन गर्दासमेत सुनुवाइ नभएकाले किसान पीडित बन्ने अवस्थामा रहेको भुसालको भनाइ छ । विगतको तुलनामा तरकारी खेती गर्ने किसानको संख्या पनि घटेकाले ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । मध्यान्ह दैनिकको लागी विनोद अधिकारीले लेख्नुुभएको समचार ।