चितवन, १४ फागुुन । जिल्लामा अपाङ्गमैत्री भवन निर्माण नभएका र निर्माण गरिएका सरकारी कार्यालयहरू अपाङ्गमैत्री नभएका कारण सेवा प्रवाह गर्ने निकायबाट सेवा लिन समस्या भएको अपाङ्गता तथा अशक्त भएका व्यक्तिहरूले गुनासो गरेका छन् ।
अपाङ्गमैत्री भौतिक संरचना बनाउन ०६९ सालमा अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त संरचना बनाउन सञ्चार निर्देशिका जारी गरिएको भएपनि त्यसको कार्यान्वयन नगरी भवन निर्माण गर्नाले समस्या उत्पन्न भएको अपाङ्गता भएका व्यक्तिहरुको गुुनासो छ ।कार्यालयहरू र बाटो अपाङ्गमैत्री नभएका कारण आफूहरू विभिन्न प्रकारका अवसरबाट बञ्चित हुनु परेको कालिका नगरपालिका ९ गड्यौलीकी शान्ति महतोले गुनासो गरिन् । समाजमा अपाङ्गता भएका व्यक्तिहरुलाई हेर्ने नजर गलत भएको भरतपुर ११ नौरङ्गेकी रोजिना श्रेष्ठ बताउँन्छिन् । सार्वजनिक यातायत चढ्न होस् या अरु केही काम गर्नका लागि पनि शारीरिक अशक्तता हुुँदा पीडा र अपमानित हुुनुपर्ने श्रेष्ठले गुुनासो गरिन् ।
अशक्त भएका व्यक्तिहरु कार्यालयमा पुगेर सहजरूपमा सेवा लिन समस्या हुँदै आएको अपाङ्ग जागरण अभियानका अध्यक्ष अम्बिका लाल श्रेष्ठले दुखेसो पोखे । उनले भने, ‘सरकारी कार्यालयमा कामकाजको सिलसिलामा जाँदा कोठाकोठा धाउनु पर्ने हुन्छ । अपाङ्गमैत्री भवन नभएका कारण अशक्त व्यक्तिलाई कार्यालयको आँगनसम्म पुग्नसमेत कठिन हुने गरेको छ । यसका लागि सरकारले ध्यान दिन सकेको छैन । सेवा प्रवाह गर्ने कार्यालयहरू अपाङ्गमैत्री छैनन् । कार्यालयमा सेवा लिन गएका अपाङ्गता तथा अशक्त व्यक्तिहरूलाई बोकेर कार्यालयभित्र लैजानुपर्ने अवस्था छ । यसले गर्दा उनीहरुलेले सास्ती खेपिरहनु भएको छ ।’
अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको क्षेत्रमा काम गर्ने संघसंस्थाले अपाङ्गमैत्री संरचनका विषयमा बहस तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी सरकारी कार्यालयहरूलाई अपाङ्गमैत्री बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको भएपनि सुनुवाइ नभएको अपाङ्ग परिचयपत्र बोर्डका सदस्य यमप्रसाद सुवेदीले बताए ।
उनले भने, ‘जिल्लाका सात वटै स्थानीय तहमा ३ हजारभन्दा बढी अपाङ्गता भएका व्यक्ति रहेका छन् । उहाँहरूमध्ये कतिपयले अहिलेसम्म पनि अपाङ्गता परिचयपत्र पाउन सक्नु भएको छैन । अपाङ्गमैत्री संरचना निर्माण त टाढैको कुरा भयो ।’ आपाङ्गता भएका व्यक्तिहरूको समस्यालाई ध्यानमा राखेर आगामी दिनमा स्थानीय तहमा निर्माण गरिने भौतिक संरचनाहरू अपाङ्गमैत्री बनाउन आवश्यक रहेको जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारीले बताए ।
अधिकारीले अपाङ्गमैत्री भवन निर्माण हुन नसकेका कारण अपाङ्ता तथा अशक्त व्यक्तिहरूलाई सेवा लिन समस्या भएको बताउँदै स्थानीय निकायले भौतिक संरचना निर्माण गर्दा अपाङ्गमैत्री बनाउन आवश्यक रहेको बताए ।