काठमाडौं, १५ फागुन । अभिनेता पल शाह रिहा हुनुभएको छ । उच्च अदालत पोखराको फैसलाअनुसार सोमबार उहाँ रिहा हुनुभएको हो । पल तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पूरा गरेर छुट्नभएको हो।
नाबालिग बलात्कार आरोप लागेको उहाँले आइतबार उच्च अदालत पोखराबाट सफाइ पाउनुभएको थियो । आइतबार कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया पुर्याउन ढिला भएपछि आज कार्यालय खुलेसँगै प्रकिया पुरा गर्नुभएको थियो । रिहा भएपछि उहाँ काठमाडौँ आउने बुझिएको छ ।
एक गायिकाले शाहले सुटिङका क्रममा बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन् । तनहुँ र नवलपुर जिल्ला अदालतले बकपत्र गर्दा पीडित १७ वर्षीया नाबालिगले आफूमाथि बलात्कार नभएको भन्दै बयान फेरेकी थिइन् ।
बलात्कार आरोपमा परेको मुद्दामा शाहलाई जिल्ला अदालत तनहुँले यसअघि नै सफाइ दिइसकेको थियो ।