काठमाडौं, १६ फागुन । त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि देशभरिका क्याम्पसमा स्ववियु निर्वाचन समिति गठन भएको छ ।
आगामी चैत ५ गते हुने निर्वाचनका लागि उपत्यकासहित देशभरिका त्रिवि आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन समिति गठन गरिएको हो ।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले सबै क्याम्पसले स्ववियु निर्वाचन गर्न निर्वाचन समिति गठन गरेको जानकारी दिनुभयो ।
प्रत्येक क्याम्पसमा क्याम्पस प्रमुख संरक्षक हुने गरी निर्वाचन समिति गठन गरिएको उहाँले जानकारी दिनुभयो । उक्त समितिले नै क्याम्पसमा स्ववियु निर्वाचन गराउने छ । त्रिविका सबै आङ्गिक क्याम्पसमा विद्यार्थी कल्याण प्रमुख रहने व्यवस्था छ ।
यसअघि त्रिविका शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालको अध्यक्षतामा १६ सदस्यीय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति गठन गरिसकेको छ । निर्देशनालयका निर्देशक अधिकारीले क्याम्पस गठन गरिएको समिति र क्याम्पस प्रमुखलाई जिल्ला स्थित निर्वाचन आयोगसँग स्ववियु निर्वाचनमा समन्वय गर्न अनुरोध गरिएको बताउनुभयो ।
यस्तै, उहाँले स्ववियु निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन गृहमन्त्रालयमार्फत ७७ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्राचारसमेत गरिएको जानकारी दिनुभयो ।
कार्यतालिका अनुसार यही फागुन १९ गते विद्यार्थी संघ÷संगठन दर्ता, फागुन २१ गते मतदाता सूची प्रकाशन, फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता तोकिएको छ । यस्तै, कार्यतालिकाअनुसार चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान तोकिएको छ ।
प्रत्येक दुई दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालयता नियमित हुन सकेको छैन । २०६५ साल चैत ६ गते भएको स्ववियु निर्वाचन एकै पटक आठ वर्षमा २०७३ चैत १५ गते भएको थियो ।