चितवन, ३० चैत । जिल्ला कारागार चितवनमा कैद भुक्तान गरिरहेका कैदीवन्दीलाई पुस्तक वितरण गरिएको छ । महानगर युवा संजाल र भरतपुर महानगरपालिकाको संयुक्त आयोजनामा पुस्तक वितरण गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अध्यक्षतामा पुस्तक वितरण भएको हो । सो अवसरमा बोल्दै प्रजिअ पौडेलले मानसिक रुपमा सकरात्मक उर्जा ल्याउनका लागि पुस्तक अध्ययन महत्वपूर्ण हुने बताउनुभयो । भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले समय कटाउनका लागि मात्र नभइ जीवनशैली परिवर्तनका लागि पनि पुस्तक अध्ययन राम्रो हुने बताउनुभयो ।
चितवन प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले आफूमा परिवर्तन ल्याउनका लागि अध्ययनशील हुनुपर्ने बताएउनुभयो । कारागार प्रमुख कमल आचार्यले खेलकुद, सीप सिकाइ, स्वरोजगारमा व्यस्त हुनेहरुका लागि पुस्तकले थप उर्जा थप्ने बताउनुभयो।
पुस्तकहरु, पुस्तकालयका लागी दराज दिइएको महानगर युवा संजाल संयोजक सन्देश वाग्लेले बताउनुभयो । नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान एवम् कैदीवन्दीलाई पुस्तक वितरण गरिएको संयोजक वाग्लेले जानकारी दिनुभयो ।