चितवन, १४ वैशाख । कोभिड–१९ को महामारीका कारण नेपालमा सञ्चालनमा आएका धेरै उद्योग प्रभावित भएको तथ्याङ्कले देखाएको छ । कोभिड–१९ का कारण चार महिना गरिएको बन्दाबन्दीका क्रममा ६३ प्रतिशत उद्योग पूर्णरूपमा बन्द भएका छन् । यस अवधिमा २४ प्रतिशत उद्योग प्रतिष्ठान आंशिकरूपमा सञ्चालनमा रहेका र १३ प्रतिशत उद्योग पूर्णरूपमा सञ्चालनमा रहेका तथ्याङ्कले देखाएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालय र तथ्याङ्क कार्यालय चितवनले आज यहाँ आयोजना गरेको अन्तर्राष्ट्रिय औद्योगिक सर्वेक्षणको प्रदेशस्तरीय नतिजा सम्बन्धमा आयोजित अन्तक्र्रिया कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक गरिएको हो । सो समयमा १७ प्रतिशत कामदारले बिनासुविधा आफूले गरिरहेको काम छाड्नुपरेको छ भने ६० प्रतिशत कामदारले बिनातलब सुविधा अस्थायीरूपमा कामबाट अलग हुनुपरेको कार्यक्रममा जानकारी दिइयो । यस्तै ११ प्रतिशत कामदारको तलब सुविधा आंशिकरूपमा कटौती भएको र बाँकी १२ प्रतिशतले निर्धारित समयभन्दा ढिला पाएको राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक राजेश धितालले जानकारी दिनुभयो ।