काठमाडौँ, ४ भदौ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज घरका मूलढोकामाथि ब्राह्मण पुरोहितबाट नागको तस्बीर टाँसी पूजाआराधना गरेर मनाइएकोे छ ।
आजको दिनमा घरको मूलढोकामाथि नागको तस्बीर टाँसेमा नाग, सर्प, बिच्छी जस्ता जीवबाट वर्षभरि दुःख नपाइने धार्मिक विश्वास रहिआएको छ । साथै चट्याङ, अग्निभय र मेघका कारण समेत पीडित हुनु नपर्ने भन्ने कुराको उल्लेख बराह लगायतका पुराणमा गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो ।
आजको दिन काठमाडौँको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत नेपालभरका नागदह, नागकुण्ड र नागस्थानहरूमा नागको पूजाआराधना गरी मेला लाग्ने गर्दछ । साथै पशुपतिस्थित वासुकी मन्दिरमा समेत यस दिन विशेष पूजाआजा गर्ने गरिएको छ ।
आज नाग पूजा गरेपछि खेतबारीमा खनजोत नगरी किसानहरूले समेत आराम गर्ने गर्दछन् । आजको दिनमा खनजोत गरेमा नाग मारिन्छन् भन्ने धार्मिक विश्वास छ । घर, खेत, बारीमा पनि नागले बास गर्छन् भन्ने वैदिक मान्यता छ । यसै मान्यताका आधारमा खेत बारीमा नागस्थान बनाई पूजा गरिन्छ ।
नागपञ्चमीका दिन विधिपूर्वक पूजाआजा गरी घरको मूलढोकामा नाग टाँसेमा वर्षभर विद्युत्, अग्नि, सर्प, चट्याङलगायतको भय नहुने धार्मिक विश्वाससमेत नेपाली समाजमा छ ।